..::Nepal Veterinary Association::..
६ महिनामा ५५ करोडको मासु चीनतिर

विष्णु पोखरेल, काठमाडौं, फागुन २० - तीन वर्षअघि सुनसरी नरसिंह-१ मा चिनियाँ लगानीमा स्थापना भएको सि-म्याक्स फुड प्रालिले यो वर्ष १ सय कन्टेनर प्रशोधित मासु निर्यात गरिसकेको छ।

कम्पनीले राँगा र भैंसीको प्रशोधित मासु चीन निर्यात गरेको हो। गत वर्ष ६० कन्टेनर मासु उता पठाएको कम्पनीले यसपालि एक वर्ष नबित्दै सय कन्टेनर पठाउन सफल भएको हो। राँगा-भैंसी अभावमा कम्पनीले हाल मागअनुसार उत्पादन गर्न नसकेको नेपाली सञ्चालक लीलु पौडेलले बताए।

'चाहिनेजति राँगा-भैंसी नपाउँदा उताबाट माग आएजति पठाउन सकेका छैनौं,' उनले भने, 'आवश्यक कच्चा पदार्थ पाए अझ धेरै निर्यात गर्न सकिन्छ।' कम्पनीले पठाउने एक कन्टेनरमा २८ टन मासु निर्यात हुन्छ। यो हिसाबले चालू वर्षभित्र कम्पनीले २ हजार ८ सय टनभन्दा बढी मासु निर्यात गरिसकेको छ।

मुलुककै विभिन्न स्थान र भारतबाट समेत ल्याइएका राँगा-भैंसी कम्पनीको आधुनिक बधशाला (स्लटर हाउस) मा काटिन्छन्। त्यसपछि मासु प्रशोधन गरी सात-आठ किसिमका बनाइन्छ। यस्तो मासु २४ घन्टासम्म माइनस ४० डिग्री सेल्सियस तापक्रममा राखिन्छ। त्यसपछि माइनस १९ डिग्री सेल्सियसमा कन्टेनरमा राखेर कोलकाता हुँदै चीन निर्यात गर्छ।

सि-म्याक्समात्र होइन सुनसरीकै दुहबीमा खुलेको अर्को स्लटर हाउसले पनि मासु चीन निर्यात गरिरहेको छ। यसै गरी हेटौंडामा चिनियाँ लगानीमै खुलेको कम्पनीले समेत मासु निर्यात गरिरहेको छ। निर्यात लक्ष्यसहित सुनसरीको खनार, बाराको जितपुर र धनुषाको ढल्केबरलगायत स्थानमा समेत यस्ता स्लटर हाउस खुल्दैछन्।

मासु निर्यात गर्ने गरी खुलेका यस्ता स्लटर हाउसले नेपालबाट मासु निर्यातको सम्भावना देखाएका छन्। वर्षेनि खुलिरहेका स्लटर हाउसका कारण नेपाली निर्यातयोग्य वस्तुमा मासु पनि थपिने देखिएको हो। सरकारले तीन वर्षअघि बनाएको नेपाल व्यापार एकीकृत रणनीतिमा मासुलाई तुलनात्मक लाभ र निकासीयोग्य सूचीमा राखिएको छैन। तर, नेपालबाट मासु नियार्त गर्न सकिने सम्भावना भने बढेको छ।

सरकारी तथ्यांकले समेत मासु निर्यात सम्भावना देखाएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको पछिल्लो व्यापार तथ्यांकअनुसार यो वर्षको पहिलो ६ महिनामा मासु निर्यात ९७.४ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष पहिलो पाँच महिनामा यस्तो वृद्धि दर १ सय १७.७ प्रतिशत थियो।

'नेपालबाट मासु निर्यातको सम्भावना अथाह छ,' अर्थशास्त्री केशव आचार्यले भने, 'यसमा प्रसस्त विदेशी लगानी पनि ल्याउन सकिन्छ।' उनका अनुसार विदेशी लगानीसहित निर्यातको सम्भावना भए पनि अझै नेपालले मासु उत्पादनका लागि पशुपालनमा प्रोत्साहन गर्न सकेको छैन।

'संसारमा खपत हुनेमध्ये ६० प्रतिशत बंगुरको मासु चीनमा खपत हुन्छ,' उनले भने, 'हामीले बंगुर उत्पादन गर्ने हो भने प्रशोधन कारखाना खोल्न चिनियाँ आफैं आइपुग्छन्।'

आचार्य अर्थ मन्त्रालयको सल्लाहकार रहँदा तीन वर्षअघि नेपालमा मासु आयात बढेर वार्षिक १५ अर्बबराबर रकम विदेशिएको भन्दै पशुपालन प्रवर्द्धन गर्ने योजना सरकारले ल्याएको थियो। 'अहिले मासु निर्यात गर्ने अवस्था आउनुमा प्रोत्साहन नीतिको केही प्रभाव छ,' उनले भने, 'यस्ता प्रवर्द्धनात्मक कार्यक्रम ल्याए निर्यात सम्भावना बढ्छ।'

त्यसबेला सरकारले ल्याएको पशुपालन प्रवर्द्धन नीतिअन्तर्गत साना किसान बैंकमार्फत् साना खाले किसानलाई करिब डेढ अर्ब रुपैयाँ सहुलियत दरमा कर्जा दिइएको थियो। यसले पशुपालन वृद्धि भएको र आयात कम भएको आचार्यले दाबी गरे। 'प्रोत्साहन भएमात्र किसानले पशुपालन गर्छन्, सरकारले अझै प्रोत्साहन गर्न सकेको छैन,' उनले भने। मासुसँगै पशुपालन बढाएर नेपालबाट पाउडर दूध निर्यात गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।

नेपालमा प्रशोधित र अर्धप्रशोधित मासु उत्पादन गरेर चीनसहित हङकङ, मलेसिया, भियतनामलगायत एसियाली देशतर्फ निर्यात सम्भावना रहेको व्यवसायी बताउँछन्। यसबाहेक नेपाली खसीको मासु युरोपसमेत पठाउन सकिने सम्भावना छ।

व्यवसायीका अनुसार नेपालमा वार्षिक करिब ७० अर्बबराबरको मासु खपत हुने गर्छ। मासु खाने संस्कृति विकास हुँदै गएकाले नेपालमा पनि मासु खपत बढिरहेको छ। कृषि मन्त्रालयका अनुसार मुलुकमा वार्षिक साढे २ लाखभन्दा बढी मासु खान प्रयोग हुने चौपाया आयात हुन्छ। यसरी आयातितमध्ये केहीको मासु प्रशोधन भई विदेश निकासी हुने गरेको सरकारी तथ्यांकले देखाएका छन्।

व्यवसायीका अनुसार नेपाल कुखुराको मासुमा आत्मनिर्भर भए पनि खसी, रागाँ-भैंसी, सुँगुरलगायतको मासुमा भने आत्मनिर्भर हुन सकेको छैन। कुखुरा व्यवसायको वार्षिक विस्तार दर १६ प्रतिशत पुगेको छ। मुलुकमा वार्षिक करिब १० करेाड किलो कुखुरा मासु उत्पादन हुन्छ।

नेपालबाट निर्यात भएको मासु (रुपैयाँमा)
साउन-पुस २०६९
५४ करोड १५ लाख
साउन-पुस २०६८
२७ करोड ४३ लाख
आ.व. २०६८/६९
३६ करोड ५० लाख

स्रोत : व्यपार तथा निकासी केन्द्र 

News: Nagariknews.com